Investigative, Accurate, News Portal
शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङले बहुमतीय पद्धतिबाट सरकार बन्न नसक्ने बताउँदै यदि एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा सहमतीय सरकार गठन भएमा त्यो सरकारमा नेकपा -एमाले) सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।
मन्त्री चेम्जोङले शिविरमा रहेका माओवादी लडाकुको समायोजन तथा व्यवस्थापन, वाइसिएलको अर्धसैनिक संरचना भङ्ग गर्ने र द्वन्द्वका बेला कब्जा गरिएका सम्पत्ति फिर्ता गर्नेलगायतका सर्त गरेर माओवादी नागरिक पार्टीमा रुपान्तरित नभएसम्म उसकै नेतृत्वमा बन्ने सहमतीय सरकारमा एमाले सहभागी हुने छैन भन्नुभयो ।
‘मधेसवादी दलहरूको सर्त पूरा गरेर माओवादीले बहुमतीय सरकार गठन गरे पनि त्यो सरकार राष्ट्रिय समस्या समाधान गर्न सफल हुँदैन’-मन्त्री चेम्जोङले भन्नुभयो-माओवादी नागरिक पार्टीमा रुपान्तरण नभएसम्म एमाले उसको नेतृत्वमा सहमतीय पद्दतिबाट बन्ने सरकारमा पनि सहभागी हुन्न ।’
देशलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाइराख्न नहुने बताउँदै मन्त्री चेम्जोङले नयाँ संविधान र शान्तिप्रक्रियालाई सफल पार्न एमालले सहमतीय आधारमा सरकार गठन गर्नुपर्ने धारणा अघि सारेको बताउनुभयो ।
आज बिहान म्याग्दीको सदरमुकाम बेनीमा प्रेस चौतारी, म्याग्दीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले शिविरमा रहेका माओवादी लडाकुलाई पनि सहमतिको आधारमा व्यवस्थापन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
शान्तिमन्त्री चेम्जोङले भन्नुभयो-’माओवादी लडाकुलाई सेनामा नै समायोजन गर्नुपर्ने एकीकृत नेकपा -माओवादी) को जिद्धीका कारण देशमा समस्या उत्पन्न भएको छ ।’
बहुमतीय पद्धतिबाट गठन हुने सरकारले संविधान निर्माण र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी पूरा गर्न नसक्ने मन्त्री चेम्जोङको भनाइ छ ।
मन्त्री चेम्जोङ जिल्लाको शान्तिप्रक्रिया, द्वन्द्वका समयमा ध्वस्त पारिएका भौतिक संरचनाका पुनर्निर्माणको अवस्था र अन्य वस्तुस्थितिबारे जानकारी लिन बेनी आउनुभएको हो ।
द्वन्द्वका समयमा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणकार्यमा गुणस्तरहीन काम भएको आरोप लागिरहेका बेला मन्त्रिस्तरीय टोलीले ती संरचनाको पनि अनुगमन गर्ने जनाइएको छ ।
अर्थुङ्गे, अर्मन, बरङ्जा र रत्नेचौर गाविसको भवन पुनःर्निर्माण कार्यमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी अनियमितता गरेको आरोपमा निर्माण कम्पनीविरुद्ध स्थानीय प्रशासनमा उजुरी परेको थियो ।